सेभेन सामुराई गोल्ड कप 2026 भव्य रूपमा सम्पन्न, MONA SHIZUOKA च्याम्पियन
शिजुओकामा आयोजित Seven Samurai Gold Cup 2026 फुत्सल प्रतियोगिता अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। २५ टिमको सहभागिताले प्रतियोगिता यस वर्ष झनै प्रतिस्पर्धात्मक र रोचक बनेको थियो।
आयोजक Shizuoka United द्वारा आयोजना गरिएको यो प्रतियोगिता फेब्रुअरी २२ मा सम्पन्न भएको हो, जहाँ जापानभरका नेपाली खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
प्रतियोगिताको उत्कर्ष मानिएको फाइनल खेलमा MONA SHIZUOKA ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि संगै नगत ४लाख येन हात पार्न सफल भयो।
फाइनलमा उनीहरूले आयोजक टोली Shizuoka United A लाई पराजित गर्दै च्याम्पियनको ट्रफी उठाए। उप बिजेता Shizuoka United A ले नगत २ लाख येन हात पार्न सफल भयो।
दुवै टिमबीचको खेल निकै कडा र रोमाञ्चक रह्यो। खेलभर दुवै पक्षले आक्रमण–प्रत्याक्रमणको उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा MONA SHIZUOKA ले अवसरलाई सदुपयोग गर्दै जित सुनिश्चित गर्यो।
प्रतियोगितामा व्यक्तिगत विधामा पनि खेलाडीहरूले प्रभावशाली प्रदर्शन गरे। प्रतियोगिताभर महत्वपूर्ण सेभहरू गर्दै आफ्नो टोलीलाई निरन्तर प्रतिस्पर्धामा राखे र उत्कृष्ट गोलरक्षक: राजु तामाङ बने । उत्कृष्ट खेलाडी: अनिल मोक्तान, सर्वाधिक गोलकर्ता: अशोक नेपाली बने ।
उनीहरूको प्रदर्शनले दर्शक र खेलप्रेमीहरूबाट प्रशंसा बटुलेको छ।
यस वर्षको गोल्ड कपमा २५ टिम सहभागी भएका थिए, जसले प्रतियोगितालाई अत्यन्तै प्रतिस्पर्धात्मक बनायो।
समूह चरणदेखि नै खेलहरू कडा बनेका थिए। धेरै खेलहरू अन्तिम मिनेटसम्म अनिश्चित बनेका थिए, जसले दर्शकलाई रोमाञ्चक क्षणहरू प्रदान गर्यो।
टिमहरूको तयारी, रणनीति, र खेलप्रतिको समर्पणले प्रतियोगितालाई उच्च स्तरमा पुर्याएको आयोजकले जनाएको छ।
शिजुओकामा बसोबास गर्ने नेपाली समुदायबीच फुतसलप्रतिको आकर्षण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ।
यस्ता प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मात्र होइन, समुदायबीच एकता र आपसी सहयोग पनि बढाउने आयोजकहरूको भनाइ छ।
