प्रथम लमजुङ समाज भेट्रान्स कप 2026 सम्पन्न, फ्रेन्ड्स FC च्याम्पियन
टोकियो — लमजुङ समाज जापानद्वारा आयोजित प्रथम लमजुङ समाज भेट्रान्स कप 2026 आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक तथा अनुशासित खेल प्रदर्शनका बीच फ्रेन्ड्स FC ले उत्कृष्ट प्रदर्शन गर्दै यस वर्षको उपाधि हात पारेको छ। फाइनल खेलमा फ्रेन्ड्स FC ले लमजुङ FC लाई पराजित गर्दै विजेता बन्न सफल भयो। लमजुङ FC ले रनर–अप स्थान हासिल गर्यो।
प्रतियोगितामा दुई समूहमा विभाजित आठ टिमले सहभागिता जनाएका थिए। दिनभर चलेका खेलहरूमा खेलाडीहरूको उत्साह, अनुशासन र खेल भावना प्रशंसनीय रहेको आयोजक समितिले जनाएको छ।
महिला समूहमा Bihani Women Team ले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भयो। त्यस्तै Purbeli Women Team ले रनर–अप स्थान प्राप्त गर्यो।
महिला खेलले पनि दर्शकको उल्लेखनीय ध्यान आकर्षित गरेको थियो।
आयोजक लमजुङ समाज जापानले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै खेलकुदमार्फत समुदायबीचको एकता, सद्भाव र आपसी सहयोगलाई अझ मजबुत बनाउने उद्देश्य सफल भएको बताएको छ। समाजले आगामी वर्ष प्रतियोगितालाई अझ व्यवस्थित र भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
