NJFA द्वारा पहिलो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०२५ सफलतापूर्वक सम्पन्न
नेपाल जापान फुटबल संघ (NJFA) को आयोजनामा पहिलो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०२५ डिसेम्बर २१, २०२५ (आइतबार) का दिन सफलतापूर्वक सम्पन्न भएको छ। जापानमा आयोजना गरिएको उक्त प्रतियोगिताले महिला फुटबलको प्रवर्द्धन र अन्तर्राष्ट्रिय खेल अनुभव आदान–प्रदानमा महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपालका दुई टोली पुर्बेली एफसी र बिहानी एफसी सहभागी थिए भने अन्तर्राष्ट्रिय टोलीका रूपमा भियतनामको एफसी गर्ल कान्तो र म्यानमारको एफसी ड्रागनले सहभागिता जनाएका थिए। चार टोलीबीच उच्च प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू भएका थिए।
प्रतियोगिताको फाइनल खेल नेपाल (पुर्बेली एफसी) र भियतनाम (एफसी गर्ल कान्तो) बीच सम्पन्न भएको थियो। निर्धारित समयमा दुवै टोलीले एक–एक गोल गर्दै खेल बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो। पेनाल्टी सुटआउटमा पुर्बेली एफसीले ७–६ गोलको रोमाञ्चक जित हात पार्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो।
विजेता पुर्बेली एफसी तथा उपविजेता एफसी गर्ल कान्तोलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजक NJFA ले महिला खेलाडीहरूको मनोबल वृद्धि र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न प्रतियोगिता महत्वपूर्ण रहेको जनाएको छ।
यसै अवसरमा NRNA JAPAN र NJFA बीच मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको थियो। मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सम्पन्न भयो, जसले दर्शकहरूलाई थप रोमाञ्चित बनाएको थियो।
NJFA ले आगामी दिनहरूमा पनि महिला फुटबलको विकास र अन्तर्राष्ट्रिय सहभागिता विस्तार गर्ने उद्देश्यसहित यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
