News

NJFA द्वारा २०२६ का लागि आधिकारिक फुटबल प्रतियोगिता डायरेक्टरी सार्वजनिक


NJFA द्वारा २०२६ का लागि आधिकारिक फुटबल प्रतियोगिता डायरेक्टरी सार्वजनिक

नेपाल जापान फुटबल संघ (NJFA) ले सन् २०२६ मा जापानभर आयोजना हुने विभिन्न नेपाली फुटबल प्रतियोगिताहरूलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यसहित आफ्नो आधिकारिक प्रतियोगिता डायरेक्टरी २०२६ सार्वजनिक गरेको छ। NJFA ले जारी गरेको सूचनाअनुसार जापानमा रहेका नेपाली फुटबल खेलाडीहरूको हकहित संरक्षण तथा नेपाली फुटबलको समग्र विकासका लागि संघ निरन्तर सक्रिय रहँदै आएको जनाएको छ।

सार्वजनिक गरिएको डायरेक्टरी अनुसार सन् २०२६ फेब्रुअरीदेखि डिसेम्बरसम्म विभिन्न क्षेत्र र क्लबहरूको आयोजनामा सिजुओका युनाइटेड कप, पिरो स्पोर्ट्स कप, एनआरएनए जापान कप, मर्करी कप, नारिता नेपाल कप, युएफएन कप, सुबाराशी कप, पुर्बेली एफसी कप, हिमालयन गोल्ड कप, ८८४८ गोल्ड कप, डाइमण्ड नारिता कप तथा पनौती–११ गोल्ड कप सञ्चालन हुने तालिका समावेश गरिएको छ। केही प्रतियोगिताहरूको मिति हाल “घोषणा हुने” अवस्थामा रहेको NJFA ले जानकारी दिएको छ।

NJFA ले जापानका विभिन्न क्षेत्रीय फुटबल संघ, क्लब तथा संस्थाहरूलाई उक्त डायरेक्टरीअनुसार आफ्ना प्रतियोगिता तालिकाहरू मिलाउन अनुरोध गरेको छ, जसले सबै प्रतियोगिताहरूबीच समन्वय कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, प्रतियोगिताको अन्तिम मिति र तालिका आयोजकको निर्णयअनुसार परिवर्तन हुन सक्ने सूचनासमेत एनजेएफएले दिएको छ।

संघका अध्यक्ष रोशन बजिमय तथा महासचिव मनोज श्रेष्ठद्वारा हस्ताक्षरित उक्त सूचनाले जापानमा नेपाली फुटबललाई थप अनुशासित, प्रतिस्पर्धी र संस्थागत बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।