News

नेपालले एएफसी यु–२० महिला छनौटमा साउदी अरेबियाविरुद्ध कठिन जित निकालेको छ


नेपालले एएफसी यु–२० महिला छनौटमा साउदी अरेबियाविरुद्ध कठिन जित निकालेको छ

भुटानमा जारी एएफसी यु–२० महिला एसियन कप छनौटको दोस्रो खेलमा नेपाली टोलीले कडा संघर्षपछि महत्वपूर्ण जित हात पारेको छ। समूह ‘ए’ अन्तर्गत शुक्रबार चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो।

 

खेलको सुरुआतमै नेपालले पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्न नसक्दा दबाब बढेको थियो। मिना देउवाबाट भएको त्यो चुक नेपाली टोलीका लागि दुर्भाग्यपूर्ण रह्यो। तर, खेलको ८९औं मिनेटमा सुक्रिया मियाको निर्णायक गोलले नेपाललाई अपेक्षित जित दिलायो। साउदी अरेबियासँगको यो खेल अपेक्षाकृत सहज मानिए तापनि नेपालले जितका लागि अन्तिम सम्म संघर्ष गर्नु परेको थियो।

 

पहिलो खेलमा नेपालले आयोजक भुटानसँग १–१ को बराबरी खेलेको थियो, भने साउदी अरेबियाले उत्तर कोरियासँग १५–० को भारी हार व्यहोरेको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन साउदी अरेबियाले भुटानको सामना गर्नेछ।

 

हालसम्म दुई खेलबाट ४ अंक जोडेर नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। एक खेल खेलेको उत्तर कोरियाको ३ अंक रहेको छ भने भुटानले १ अंक जोडेको छ। साउदी अरेबिया भने अंकविहीन रहँदै पुछारमा रहेको छ।

 

यस छनौट प्रतियोगिताबाट प्रत्येक समूहका विजेता २०२५ मा हुने एएफसी यु–२० महिला एसियन कपमा स्थान सुरक्षित गर्नेछन्। साथै, सबै समूहहरूबाट उत्कृष्ट तीन उपविजेता टोलीहरूलाई पनि प्रतियोगितामा छनोट हुने अवसर प्राप्त हुनेछ। आयोजक थाइल्याण्ड भने स्वतः छनोट भइसकेको छ।