नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई पुनः जटिल शल्यक्रिया आवश्यक, आर्थिक सहयोगको अपिल
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको जानकारी दिँदै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।
हाल न्युजिल्यान्डको क्लब Wellington Phoenix FC बाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बा पछिल्लो सात हप्तादेखि मैदान बाहिर छिन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर समस्या देखिएको उल्लेख गरेकी छन्। चिकित्सकहरूले पुनः जटिल शल्यक्रिया आवश्यक रहेको सुझाव दिएका छन्।
यसअघि यही चोटको उपचार कतारस्थित Aspetar मा गरिएको थियो, जहाँ उपचार व्यवस्थापनमा अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्ण सहयोग रहेको साम्बाले बताएकी छन्। तर यसपटक भने वाचा अनुसार सहयोग नपाएको उनको गुनासो छ।
उनका अनुसार, चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय गरिएको थियो। एन्फाले आफ्नो तर्फबाट पहल गर्ने बताए पनि प्रक्रिया अघि नबढ्दा उपचारमा ढिलाइ भएको उनले उल्लेख गरेकी छन्। पटक–पटक सम्पर्क गर्दा पनि स्पष्ट समन्वय हुन नसकेको र अन्ततः एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै पाँच लाख रुपैयाँसम्म नगद सहयोगको प्रस्ताव राखेको उनको दाबी छ।
यस कारण करिब दुई महिना उपचार प्रक्रिया प्रभावित भएको र पुनः शल्यक्रियाको मिति मिलाउनुपर्ने अवस्था आएको उनले जनाएकी छन्।
हाल उनको क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको जनाएको छ। क्लबले बीमाबाट प्राप्त रकम निकासा गरिदिने बताए पनि शल्यक्रिया र ७–८ महिनासम्मको रिह्याबका लागि आवश्यक सम्पूर्ण खर्च नपुग्ने देखिएको छ।
चोटको जटिलता र अघिल्लो सफल उपचारको अनुभवलाई ध्यानमा राख्दै साम्बाले पुनः कतारस्थित अस्पेटारमै उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। प्रारम्भिक अनुमान अनुसार शल्यक्रिया र पुनर्स्थापनासहित करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताइएको छ।
साम्बाले आफू विदेशमा रहेकाले नेपाल सरकारसमक्ष पनि प्रतिनिधित्वमार्फत सहयोगको प्रयास भइरहेको जानकारी दिएकी छन्। तर सरकारी प्रक्रिया अपेक्षा अनुसार अघि नबढ्दा समयमै शल्यक्रिया गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।
आफ्नो करियरको “सबैभन्दा कठिन लडाइँ” सामना गरिरहेको बताउँदै साम्बाले आम समर्थकहरूसमक्ष आर्थिक सहयोगको अपिल गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत नेपालमा रहेका समर्थकलाई क्यूआर वा बैंकमार्फत तथा विदेशमा रहेका समर्थकलाई अनलाइन प्लेटफर्ममार्फत सहयोग गर्न अनुरोध गरेकी छन्।
“थाकेको हो, हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु,” भन्दै उनले आत्मविश्वास व्यक्त गरेकी छन्।
नेपाली महिला फुटबलको अग्रणी खेलाडीका रूपमा स्थापित साम्बाको उपचार र पुनरागमनप्रति देशभरका खेलप्रेमीले चासो व्यक्त गरिरहेका छन्।

