नेपाली महिला राष्ट्रिय फुटबल टोलीको ऐतिहासिक सफलता – फिफा वरियतामा अहिलेसम्मकै उच्च स्थान!
अगस्ट महिनाको लागि फिफाले सार्वजनिक गरेको महिला फुटबल टोलीको ताजा विश्व वरियतामा नेपालले अहिलेसम्मकै उच्च स्थान हासिल गरेको छ। हालसालै सार्वजनिक सूचीअनुसार नेपाली महिला टोली १३ स्थानले सुधार गर्दै ८७औं स्थानमा पुगेको छ, जुन नेपाली महिला फुटबलको इतिहासमै सबैभन्दा उत्कृष्ट प्रदर्शन हो।
दक्षिण एसियाली राष्ट्रहरूमध्ये नेपाल दोस्रो स्थानमा रहेको छ। भारतले पनि उल्लेखनीय प्रगति गर्दै ६३औं स्थानमा उक्लिएको छ र क्षेत्रीय स्तरमा शीर्ष स्थानमा कायम रहेको छ। यस्तै, बंगलादेशले २४ स्थानको फड्को मारी १०४औं स्थानमा पुगेर तेस्रो स्थान सुरक्षित गरेको छ।
पाकिस्तानले तीन स्थान सुधार गरेर १५४औं स्थान पाएको छ भने श्रीलंकाले दुई स्थान गुमाएर १६१औं स्थानमा झरेको छ। भुटानले आठ स्थानको सुधारसहित १६३औं स्थानमा स्थान बनाएको छ, र माल्दिभ्स भने दुई स्थान पछाडि हट्दै १६५औं स्थानमा पुगेको छ।
विश्व वरियताको शीर्ष स्थानमा सधैंझैं विश्व विजेता स्पेन अडिग छ। अमेरिकाले दोस्रो स्थान कायम राख्दा, स्वीडेन तेस्रो स्थानमा उक्लिएको छ। एसियाबाट जापान र उत्तर कोरिया शीर्ष १० भित्र पर्न सफल भएका छन्, क्रमशः आठौं र दशौं स्थानमा।
