News

लमजुङ समाज जापानद्वारा ‘Lamjung Samaj Veterans Cup 2026’ आयोजना हुने


लमजुङ समाज जापानद्वारा ‘Lamjung Samaj Veterans Cup 2026’ आयोजना हुने

जापानमा क्रियाशील लमजुङ समाज जापानको आयोजनामा ‘लमजुङ समाज भेटेरान्स कप २०२६’ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। “हाम्रो लमजुङ, राम्रो लमजुङ” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यो प्रतियोगिता २०२६ फेब्रुअरी १५ (आइतबार) का दिन सम्पन्न हुनेछ।

३५ वर्षभन्दा माथिका खेलाडीहरूका लागि लक्षित यस भेटेरान्स प्रतियोगिता दिउँसो १२:०० बजेदेखि ४:०० बजेसम्म जापानको चिबा फुटसल ग्राउन्ड (Chiba Futsal Ground) मा सञ्चालन हुनेछ। प्रतियोगिताले जापानमा रहेका लमजुङवासी तथा नेपाली समुदायबीच आपसी सद्भाव, स्वास्थ्य, खेलकुद संस्कृतिको प्रवर्द्धन र भाइचाराको भावना अभिवृद्धि गर्ने अपेक्षा आयोजकले गरेको छ।

प्रतियोगितामा विजेता टिमले १ लाख जापानी येन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार जापानी येन नगद पुरस्कार प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडीहरूलाई विशेष Best Awards समेत प्रदान गरिने जानकारी आयोजकले दिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि ३० हजार जापानी येन प्रवेश शुल्क तोकिएको छ।

उक्त प्रतियोगिता लमजुङ समाज जापान तथा लमजुङ एफसी जापानको संयुक्त आयोजनामा हुन लागेको हो। प्रतियोगिताको सफलताका लागि Rato Moto (रातो माटो)Funwari Dining (Ikebukuro) ले प्रायोजन गरेका छन्।

आयोजक संस्थाले जापानमा रहेका भेटेरान्स खेलाडीहरूलाई सक्रिय सहभागिता जनाई प्रतियोगितालाई भव्य र सफल बनाउन अनुरोध गरेको छ। यस प्रतियोगिताले खेलकुदमार्फत समुदायलाई एकताबद्ध गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।