जापानमा आयोजना हुने विश्वस्तरीय प्रतिस्पर्धामा चम्किन तयार U12 नेपाल टिम
जापानमा आयोजना हुने अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगिता COPA TOREROS 2026 Primavera को तयारी अन्तिम चरणमा पुगेको छ। २०औँ संस्करणमा प्रवेश गरेको यो प्रतिष्ठित U-12 अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वका विभिन्न देशका उत्कृष्ट युवा टिमहरूको सहभागिता रहनेछ। २००५ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता विश्व फुटबलमा उदाउँदै गरेका प्रतिभाहरूका लागि महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै आएको छ।
यस वर्षको संस्करणमा नेपाल, ब्राजिल, जर्मनी, अष्ट्रेलिया, कोरिया, चीन, सिंगापुर, ताइवान र जापानका प्रतिष्ठित क्लबहरू सहभागी हुनेछन्। सहभागी टिमहरूमा U12 Neapl National Select (Nepal), SE PALMEIRAS (Brazil), RB LEIPZIG (Germany), Northern NSW Metro & Regional (Australia), Seongnam FC (Korea), Guangzhou SC (China), Bukit GJlang SSG (Singapore) लगायतका टिमहरू छन्। जापानबाट URAWA REDS, KASHIMA ANTLERS, KASHIWA REYSOL, SHONAN BELLMARE, MONTEDIO YAMAGATA, YOKOHAMA FC, VENTFORET KOFU, SHIMIZU S-PULSE PRIMERA, RISING COSMOS UNITED, G-net FC लगायतका प्रतिष्ठित क्लबहरू सहित ३० भन्दा बडी टिमहरु सहभागी हुनेछन्।
यी सबै बलिया टिमहरूको बीचमा U12 Nepal National Select Team ले पनि सहभागिता जनाउनेछ, जसले नेपाली बाल फुटबलका लागि ठूलो अवसर र गौरवको विषय बनेको छ। विश्वस्तरीय टिमहरूसँग प्रतिस्पर्धा गर्ने मौका पाउनु नेपाली युवा खेलाडीहरूको आत्मविश्वास, अनुभव र खेलकौशल विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाएका नेपाली बाल खेलाडीहरू भविष्यमा अझ ठूलो यात्रातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
नेपाल टिमको सहभागितालाई विशेष अर्थपूर्ण मान्दै आयोजक तथा नेपाली समुदायले सबैलाई “हाम्रो बाल खेलाडीहरूलाई हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ। खेल हेर्न उपस्थित भई उनीहरूलाई प्रोत्साहन दिनुहोला” भन्ने विनम्र आग्रह गरेका छन्। जापानमा रहेका नेपाली समुदायको उपस्थिति र समर्थनले खेलाडीहरूलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
गेमहुने थाउको लोकेसन 時之栖 うさぎ島グラウンド
Google Map: https://maps.app.goo.gl/rH5rfiMAqGTc1L5y8
प्रतियोगिता २०२६ मार्च २८ शनिबारदेखि औपचारिक रूपमा प्रारम्भ भई २०२६ मार्च ३० सोमबार सम्पन्न हुने छ। उक्त प्रतियोगिता लिग तथा नकआउट दुवै प्रारूपमा सञ्चालन गरिनेछ।
अन्तर्राष्ट्रिय स्तरका टिमहरूको सहभागिताले यस वर्षको संस्करणलाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ। विशेषगरी नेपालका युवा खेलाडीहरूको सहभागिताले दक्षिण एसियाली फुटबल समुदायमा उत्साह, गर्व र आशा थपिएको छ।
साथै नेपाल टिमको आगमनलाई स्वागत गर्न NPO Nepays Japan ले विशेष Welcome Dinner with the U-12 Football Team कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम २०२६ मार्च २६ (बिहीबार) का दिन शिनओकुबोस्थित Yataimura Shinokubo मा साँझ १८:३० देखि २१:०० सम्म सञ्चालन हुनेछ। नेपाली समुदाय, अभिभावक तथा समर्थकहरूलाई टिमसँग भेटघाट, संवाद र हौसला प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
