News

एएफसी एसियन कप छनोटमा नेपाल ३–१ ले भियतनामसँग पराजित


एएफसी एसियन कप छनोटमा नेपाल ३–१ ले भियतनामसँग पराजित

एएफसी एसियन कप २०२७ छनोटअन्तर्गतको पहिलो खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भियतनामसँग ३–१ को हार बेहोरेको छ।
एएफसी (एसियाली फुटबल महासंघ) ले काठमाडौंको दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय म्याच खेल्न अयोग्य ठहर गरेपछि नेपालले आफ्ना "होम एण्ड अवे" म्याचहरू भियतनाममा खेलिरहेको छ।

बिहीबार हो ची मिन्ह सिटीको गो दाउ स्टेडियममा भएको खेलमा नेपालले खेलको पहिलो हाफसम्म उत्कृष्ट प्रदर्शन गर्दै बराबरीमा रोकेको थियो।
सनिष श्रेष्ठले दिएको सुन्दर हेड गोलमार्फत नेपालले १–१ को स्थिति बनाएको थियो। तर, पहिलो हाफकै इन्जुरी समयमा लाकेन लिम्बुले बक्स नजिकै फल गरेपछि रातो कार्ड पाए र नेपाल दश खेलाडीमा सिमित भयो।

दोस्रो हाफमा संख्यात्मक कमीको फाइदा उठाउँदै भियतनामले थप दुई गोल गर्दै ३–१ को जित दर्ता गर्‍यो। यस हारसँगै नेपालले समूह “एफ” मा आफ्नो पहिलो अंक हासिल गर्ने अवसर गुमाएको छ।

नेपालले अब १४ अक्टोबरमा भियतनामकै थोङ न्हाट स्टेडियममा दोस्रो खेल खेल्नेछ।
बिहीबारको नतिजापछि भियतनामले ३ खेलबाट ६ अंक जोड्दै समूह “एफ” को दोस्रो स्थानमा उक्लिएको छ।
शिर्ष स्थानमा ९ अंकसहित मलेसिया, तेस्रो स्थानमा ३ अंकसहित लाओस, र अंकविहीन नेपाल समूहको पुछारमा छ।