3rd ASO CUP TOURNAMENT 2025 को खेल क्रममा उत्पन्न विवादबारे आयोजक ASO FC को आधिकारिक धारणा सार्वजनिक
जापानको कुमामोतोमा आयोजना गरिएको 3rd ASO कप इन्टर जापान प्रतियोगिताको क्रममा उत्पन्न अप्रत्याशित घटनाबारे आयोजक संस्था ASO फुटबल क्लब, कुमामोतो ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। आयोजकले सबै सहभागी टोली, खेलाडी, प्रशिक्षक, म्यानेजर तथा समर्थकहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रतियोगिता आयोजना गर्ने क्रममा भएका घटनाबारे स्पष्टिकरण दिएको छ।
डिसेम्बर २० तारिख शनिबार सम्पन्न खेलमा Ohashi FC र Sagarmatha FC बीच खेल चलिरहेका बेला खेलाडीबीच उत्पन्न विवादले स्थिति तनावग्रस्त बनेको आयोजकले जनाएको छ। विवादको क्रममा Ohashi FC का खेलाडी निकेश श्रेष्ठ र सुमन तामाङ तथा क्लबका म्यानेजर सन्देश केसी, साथै Sagarmatha FC का म्यानेजर रोबन थापा मगर समेत संलग्न भएको उल्लेख गरिएको छ। स्थिति नियन्त्रण बाहिर जान सक्ने देखिएपछि आयोजकले दुबै पक्षलाई मैदानबाट बाहिर निकाल्ने निर्णय गर्नुपरेको जनाएको छ।
Ohashi FC ले आयोजकको निर्णय स्वीकार गर्दै मैदान बाहिरिएको भए पनि Sagarmatha FC का केही पदाधिकारी तथा खेलाडीबाट खेल सञ्चालनमा अवरोध सिर्जना भएको आयोजकको भनाइ छ। यसका कारण प्रतियोगिताको फाइनल खेल सञ्चालन गर्न नसकिएको र सुरक्षाका कारण कार्यक्रम स्थगित गर्नुपरेको ASO FC ले स्पष्ट पारेको छ।
आयोजकका अनुसार अन्य कोर्टमा खेल सञ्चालनको विकल्पबारे छलफल भए पनि Sagarmatha FC तर्फबाट सहकार्य नपाएको र आयोजक टिमलाई धम्कीसमेत दिइएको आरोप लगाइएको छ। यसले गर्दा फाइनल खेल, पुरस्कार वितरण तथा पाहुना सत्कार कार्यक्रम समेत सम्पन्न हुन नसकेको भन्दै आयोजकले खेद व्यक्त गरेको छ।
ASO फुटबल क्लबले प्रतियोगिता सफल बनाउन प्रयास गरिए पनि परिस्थितिजन्य कारणले खेल सम्पन्न गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै भविष्यमा यस्ता प्रतियोगिताहरू आयोजना गर्दा सबै क्लब, खेलाडी र पदाधिकारीबाट सकारात्मक सोच, अनुशासन र सहयोगको अपेक्षा गरिएको जनाएको छ।
अन्त्यमा, आयोजकले सहभागी सबै टोली र टाढा–टाढाबाट आएका दर्शकहरूप्रति क्षमायाचना गर्दै आगामी दिनमा अझ व्यवस्थित, सुरक्षित र खेलभावनाअनुसार प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

