2nd 8848 Gold Cup मा Oizumi FC विजेता बन्दै ४ लाख येन प्राप्त गरे
जापानमा आयोजना गरिएको दोस्रो संस्करणको “2nd 8848 Gold Cup” भव्य रुपमा सम्पन्न भएको छ। 8848 NYFC द्वारा आयोजना गरिएको यो प्रतिष्ठित प्रतियोगिता अक्टोबर २६ तारिख आइतबारका दिन बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म नागारेयामा मैदानमा सम्पन्न भएको थियो। प्रतियोगितामा जापानका विभिन्न सहरबाट आएका ३३ टोलीहरूले प्रतिस्पर्धा गरेका थिए।
यस प्रतियोगिताको मुख्य उद्देश्य जापानमा रहेका नेपाली समुदायका युवाहरूबीच खेलकुदमैत्री सम्बन्ध विस्तार गर्नुका साथै फुटबल प्रतिभाहरूलाई प्रोत्साहन गर्ने रहेको आयोजक संस्थाले जनाएको छ।
दिनभर चलेका प्रतिस्पर्धात्मक खेलहरूमा उत्साह, जोश र उमङ्गको माहोल रहेको थियो। दर्शकहरूको उपस्थितिले खेलमैदान उत्सवमय बनेको थियो।
सेमिफाइनल चरणमा पहिलो खेलमा Rising Nepal Youth FC Blue र Oizumi FC बीच रोमाञ्चक खेलमा १-२ गोलले Oizumi FC ले जित हासिल गर्दै फाइनलमा स्थान बनाउन सफल भयो। दोस्रो सेमिफाइनल खेलमा भने Mercury FC Tokyo ले उत्कृष्ट प्रदर्शन गर्दै Tamang Youth FC लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो।
रोमाञ्चक फाइनल खेलमा Oizumi FC र Mercury FC Tokyo आमनेसामने भए। खेलको सुरुदेखिनै आक्रामक देखिएको ओइजुमी एफसीले प्रभावशाली प्रदर्शन गर्दै Mercury FC Tokyoलाई ५–१ ले पराजित गर्दै “2nd 8848 Gold Cup” को उपाधि आफ्नो नाममा लेखाएको छ। Mercury FC Tokyoले उपविजेता स्थान प्राप्त गर्न सफल भयो।
विजेता Oizumi FCले ¥४००,००० र ट्रफी प्राप्त गर्यो भने उपविजेता मMercury FC Tokyoले ¥२००,००० सहित ट्रफी हात पार्यो। सेमिफाइनलमा पुगेका टोलीहरूलाई पनि नगद पुरस्कार ¥५०,००० प्रदान गरिएको थियो। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार पनि वितरण गरियो।
यो प्रतियोगिता 8848 NYFC को आयोजनामा, नेपाल फुटबल संघ जापान (NJFA) को मुख्य प्रायोजन मा सम्पन्न गरिएको हो।
कार्यक्रममा आयोजक समितिका पदाधिकारी, खेलप्रेमी, र जापानमा रहेका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। आयोजक संस्थाका अनुसार, यो प्रतियोगिताले जापानमा रहेका नेपाली युवाबीच आपसी सहकार्य र खेलकुदप्रतिको लगाव अझै बलियो बनाएको छ।
अन्त्यमा, आयोजक 8848 NYFC ले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै टिम, खेलाडी, सहयोगी संस्था, र सम्पूर्ण दर्शकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
